असोज १५, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले बजार अनुगमनका क्रममा बरामद गरिएका म्याद गुज्रिएका अखाद्य बस्तु नष्ट गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको उपस्थितिमा विभिन्न मितिमा गरिएका बजार अनुगमनबाट निकालिएका अखाद्य बस्तुहरू नष्ट गरिएको हो ।
विशेष गरि बढी जनसङ्ख्या भएको जिल्ला सदरमुकामका वडाहरू र आसपासका क्षेत्रमा गरिएको अनुगमनबाट अनुगमन टोलीले १ लाख १२ हजार भन्दा बढी रकम बराबरको अखाद्य बस्तु जफत गरेको थियो । सोलुदुधकुण्ड नगरपालिका वडा नं. ६, ७ र ८ का विभिन्न किराना तथा खाद्य पसलहरूमा गरिएको अनुगमनका क्रममा जफत गरिएका एक लाख बाह्र हजार एक सय पच्चीस रुपैयाँ बराबरका अखाद्य वस्तुहरू नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो ।
अनुगमन टोलीले केरुङ किचेन होटलबाट ६ सय ९० दावा सुष्मा किराना पसलबाट ६५ हजार २ सय ७०, सविन स्टोर एण्ड सप्लायर्सबाट ३ सय, नै रानी तामाङबाट ३ सय ५०, श्रेष्या स्टोर एण्ड सप्लायर्सबाट ३ हजार ९ सय ४० , गेल्मु किराना पसलबाट १२ हजार २५ हिमालयन होटलबाट २ हजार ३ सय ७०, पोषण किराना पसलबाट १ हजार २ सय ४०, चक्र किराना पसलबाट १ हजार ७ सय ८०, के.एन.के. किराना पसलबाट रु. १ हजार, प्रतिक स्टोरबाट ९ सय ७०, चक्र बहादुर राई किराना पसलबाट रु. १८ हजार ८ सय १५ र शेर्पा स्टोरबाट ३ हजार ३ सय ७५ रुपैयाँ बराबरको सामाग्री बरामद गरिएको थियो ।
उपभोक्ताहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै सहायक सिडिओ थापाले बजारमा हुने कालोबजारी, म्याद गुज्रिएका खाद्य सामग्रीको बिक्रीवितरण र अस्वस्थकर वस्तुहरूको कारोबारलाई नियन्त्रण गर्न अनुगमनलाई अझै कडाइका साथ निरन्तरता दिने जनाएको छ ।











Discussion about this post