असोज १५, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्लो समय मोबाइल फोनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपालमा बिक्री हुने अधिकांश ब्रान्डका मोबाइलको मूल्य बढेपछि त्यसको प्रत्यक्ष असर जिल्लाको बजारमा समेत परेको हो । सल्लेरी बजारमा रहेका मोबाइल बिक्रेताका अनुसार कम्पनीबाटै मूल्य बढेर आउन थालेपछि एउटै मोडलको मोबाइलमा १० देखि १५ हजार रुपियाँसम्म मूल्य वृद्धि भएको छ ।
चाडपर्व नजिकिँदै गर्दा मोबाइल तथा विद्युतीय सामग्रीको माग बढिरहेका बेला मूल्यसमेत बढेपछि व्यवसायी र उपभोक्ता दुवै प्रभावित भएका छन् । पियुस मोबाइल रिपेरिङ एण्ड इलेक्ट्रोनिक्स सेन्टरका सञ्चालक प्रकाश पन्जियारले पछिल्लो छ महिनायता मोबाइलको मूल्य निरन्तर बढ्दै आएको बताउनुभयो । उहाँका अनुसार कम्पनीबाट मूल्य बढेर आएपछि जिल्लामा पनि सोहीअनुसार बिक्री मूल्य निर्धारण गर्नुपर्ने अवस्था रहेको छ । त्यस्तै, सल्लेरीस्थित न्यु माउण्ट एभरेस्ट मोबाइल रिपेरिङ सेन्टरका सञ्चालक सञ्जय पन्जियारले कम्पनीले नै मोबाइलको मूल्य बढाएर पठाउने गरेको बताउनुभयो ।
मूल्य बढेपछि ग्राहकले नयाँ मूल्य सुन्दा अचम्म मान्ने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार केही वर्षअघि १५ देखि १८ हजार रुपियाँमा बिक्री हुने मोबाइल अहिले सोही स्तरका कतिपय मोडल ३० देखि ३५ हजार रुपियाँसम्ममा बिक्री हुने गरेका छन् । व्यवसायीका अनुसार पछिल्लो समय विश्व बजारमा चिपको माग बढ्नु पनि मोबाइलको मूल्य वृद्धिको एउटा कारण हो । विशेषगरी स्मार्टफोनमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी सुविधा थपिँदै जाँदा उच्च क्षमताका प्रोसेसर तथा चिपको माग बढेको छ । यसका कारण चिपलगायत विभिन्न कम्पोनेन्टको लागत बढ्दा त्यसको प्रभाव मोबाइलको मूल्यमा परेको बताइएको छ ।











Discussion about this post