माघ २९, सोलुखुम्बु । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदनअनुसार काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका बनेकाे छ । जिल्लाका स्थानीय तहमध्ये सोलुदुधकुण्ड नगरपालिका प्रदेश तथा जिल्ला कै पहिलो स्थानमा परेको छ। आर्थिक वर्ष २०८१/८२ का लागि गरिएको मूल्यांकनमा सोलुदुधकुण्डले ७८.५० अंक प्राप्त गर्दै जिल्लामै उत्कृष्ट स्थानमा परेको हो। याे सगैँ सोलुदुधकुण्ड नगरपालिका देशकै चौथो उत्कृष्ट स्थानीय तह हुन सफल भएको छ। ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ को दफा ७ बमोजिम १७ वटा सूचकका आधारमा मूल्यांकन गरेको जनाएको छ। सोही मूल्यांकनमा थुलुङ दुधकोशी गाउँपालिकाले ६३.७९ अंक, माप्य दुधकोशी गाउँपालिकाले ६३.२६ अंक, खुम्बु पासाङल्हामु गाउँपालिकाले ६२.३६ अंक प्राप्त गरेका छन्। यसैगरी महाकुलुङ गाउँपालिकाले ५७.८१, लिखु पिके गाउँपालिकाले ५४.४३, नेचासल्यान गाउँपालिकाले ५१.६३ र सोताङ गाउँपालिकाले ५१.३४ अंक प्राप्त गरेका छन्।

आयोगका अनुसार स्थानीय तहहरूले गरेको स्वमूल्यांकनका आधारमा प्राप्त अंकलाई प्रमाणीकरण गरी प्रतिवेदन तयार गरिएको हो। मूल्यांकनका प्रमुख सूचकहरूमध्ये स्थानीय सरकारले ऐनअनुसार हरेक वर्ष असार १० गतेभित्र सम्बन्धित गाउँ वा नगरसभामा बजेट पेश गरे–नगरेको विषयलाई एक सूचकका रूपमा लिइएको छ। त्यस्तै असार मसान्तभित्र बजेट पारित भए–नभएको विषयलाई पनि छुट्टै सूचक मानिएको छ।
त्यसैगरी घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर र विज्ञापन करबाट संकलित रकम प्रदेश सरकारलाई हस्तान्तरण गरे–नगरेको विषयलाई समेत मूल्यांकनमा समेटिएको छ। विनियोजित बजेटको कार्यान्वयन अवस्था, राजस्व संकलनको लक्ष्य र प्रगति, लेखापरीक्षणको स्थिति तथा आवधिक योजना कार्यान्वयन पनि मूल्यांकनका आधार बनेका छन् ।











Discussion about this post