फागुन ५, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिमा १२० जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाइएको छ । गाउँपालिकामा सोमबार र मंगलबार सञ्चालन गरिएको दुई दिने अभियानअन्तर्गत उक्त संख्यामा किशोरीलाई खोप प्रदान गरिएको हो । देशभर सरकारले सुरु गरेको खोप अभियानअन्तर्गत गाउँपालिकाभित्र रहेका २१ वटा स्वास्थ्य केन्द्रमार्फत २१ जना स्वास्थ्य स्वयंसेवक परिचालन गरी खोप सेवा प्रदान गरिएको माप्य दुधकोशी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जितेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार पालिकाभित्र कक्षा ६ मा अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइएको हो । त्यस्तै केही किशोरीहरु अझै खोप लगाउन बाकीँ रहेकाले भोलि बुधबार पनि अभियानलाई निरन्तरता दिइने भएको छ ।
यता सोलुदुधकुण्ड नगरपालिकामा करिब २ सय ८० जनालाई, नेचासल्यान गाउँपालिकामा ९७ जनालाई र महाकुलुङ गाउँपालिकामा १३३ जनालाई खोप लगाइएको छ भने अन्य स्थानीय तहको विवरण आउन बाकीँ रहेको छ । स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख जीवन चौलागाईका अनुसार एचपिभी खोप विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त तथा औषधि व्यवस्था विभागबाट स्वीकृत सुरक्षित खोप भएकाले यसबाट डराउनुपर्ने अवस्था छैन् ।
अभियानअन्तर्गत गत वर्षको खोप कार्यक्रममा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा ११ देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका किशोरीलाई समेत खोप लगाइने जनाइएको छ । वर्षौ देखिको प्रयासपछि नेपालमा एचपिभी खोप भित्र्याउन सफल भएको उल्लेख गर्दै खोपले पाठेघरको मुखको क्यान्सरजस्ता गम्भीर रोगबाट किशोरीहरूको भविष्य सुरक्षित गर्ने लक्ष्य लिएको बताइएको छ ।











Discussion about this post