सबिना राई, फागुन १३, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा निर्वाचन आचारसंहिता विपरीत टाँसिएका पोस्टर र ब्यानर हटाइएको छ । बुधबार मुख्य निर्वाचन अधिकृत चन्द्र कुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी. पाण्डे लगायत सुरक्षाकर्मीको नेतृत्वमा दोर्पुदेखि फाप्लुसम्मका विद्युतका पोल तथा घरमा टाँसिएका प्रचार सामग्री हटाइएको हो ।
आचारसंहिता उल्लङ्घन भएको सूचना प्राप्त भएपछि अनुगमनलाई तीव्रता दिँदै सो कार्य गरिएको मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिनुभयो । उहाँले आगामी दिनमा आचारसंहिता विपरीत गतिविधि नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गर्दै उल्लङ्घन गरे कानुनी कारबाही गरिने चेतावनी दिनुभयो ।
पोस्टर तथा ब्यानर हटाउने क्रममा सम्बन्धित दलहरूलाई सचेतसमेत गराइएको उहाँको भनाइ छ । त्यस्तै प्रमुख जिल्ला अधिकारी पाण्डेले अन्य जिल्लाको तुलनामा सोलुखुम्बुमा केही स्थानबाहेक समग्रमा आचारसंहिता पालना भइरहेको बताउनुभयो । फागुन २१ गतेको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभएको छ ।











Discussion about this post