चैत्र १८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले रेविज रोग नियन्त्रणका लागि महत्वपूर्ण पहल गर्दै तीन सयभन्दा बढी कुकुर तथा बिरालोलाई निःशुल्क खोप लगाएको छ। आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रम अन्तर्गत ३८९ वटा घरपालुवा तथा सामुदायिक कुकुर–बिरालोलाई रेविजविरुद्धको खोप लगाइएको हो ।
नगरपालिकाको पशु सेवा शाखाद्वारा सञ्चालित खोप अभियान वडा नम्बर १, २, ३ र ६ मा सफलतापूर्वक सम्पन्न भएको छ । पशु सेवा शाखाका नायव पशु सेवा प्राविधिक गणेश थापाका अनुसार अभियानप्रति स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको छ, जसले रेविजजस्तो घातक रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
थापाले बाँकी वडाहरूमा समेत वडागत तालिका अनुसार क्रमशः खोप कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार नगरपालिकाले मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित रेविज रोग नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता जनस्वास्थ्यमैत्री कार्यक्रमलाई निरन्तरता दिनेछ। रेविज एक प्राणघातक रोग भएकाले समयमै खोप लगाउनु नै यसको प्रभावकारी रोकथामको प्रमुख उपाय मानिन्छ । यस अभियानले समुदायमा जनचेतना वृद्धि गर्नुका साथै सुरक्षित वातावरण निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।










Discussion about this post