चैत्र २२, सोलुखुम्बु । सोलुखुम्बुमा सञ्चालन गरिएको दुई दिने “आउटरीच माइक्रो सर्जिकल आँखा शिविर” सम्पन्न भएको छ । शुक्रबार र शनिबार आयोजित उक्त शिविर सम्पन्न भएको हो । सामुदायिक आँखा केन्द्र फाप्लुका प्रमुख बिधान ताम्राकारका अनुसार शिविर मार्फत कुल ८७ जना बिरामीको आँखा शल्यक्रिया गरिएको छ ।

शिविरमा मोतिबिन्दुका ६२ जना बिरामीको शल्यक्रिया गरिएको थियो भने अन्य विधिबाट २१ जनाको उपचार गरिएको जानकारी दिइएको छ । साथै, ४ जना बिरामीको प्टेरीजियम शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न गरिएको थियो । विशेषज्ञ चिकित्सक डा. सुदीप राजभण्डारी तथा उहाँको टोलीको सक्रिय सहभागितामा सञ्चालन गरिएको शिविरले दुर्गम क्षेत्रका धेरै बिरामीलाई प्रत्यक्ष राहत पुगेको बताइएको छ ।

स्थानीय स्तरमै गुणस्तरीय आँखा सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरले आँखासम्बन्धी समस्या भएका नागरिकका लागि महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले उल्लेख गरेको छ । “सोलु ओमेक”को आयोजनामा सम्पन्न उक्त शिविरलाई विभिन्न संघसंस्था तथा सहयोगी निकायहरूको सहयोग प्राप्त भएको थियो ।
आयोजकले शिविर सफल बनाउन योगदान पु¥याउने सम्पूर्ण चिकित्सक टोली, सहयोगी संस्था तथा स्थानीयबासीप्रति आभार व्यक्त गरेको छ । यस प्रकारका शिविरहरूले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।












Discussion about this post