चैत्र २३, सोलुखुम्बु । सरकारको निर्णयअनुसार सोलुखुम्बुका सबै सरकारी कार्यालयहरू सोमबारदेखि बिहान ९ बजेदेखि सञ्चालनमा आएका छन् । यसअघि तोकिएको समयभन्दा एक घण्टा अगाडि कार्यालय खुल्न थालेसँगै कर्मचारीहरू पनि समयमै उपस्थित भएका छन् । जिल्ला प्रशासन कार्यालयसहित विभिन्न सरकारी निकायहरू बिहानै खुले पनि सेवाग्राहीको उपस्थिति भने अपेक्षाकृत कम देखिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदी का अनुसार बिहान १० बजेसम्म कार्यालयमा दुई–तीन जना मात्र सेवाग्राही आएका थिए । उहाँले सधैंझैं १० बजेपछि मात्र सेवाग्राहीको चाप बढ्ने गरेको जानकारी दिनुभयो । बिहान ९ बजेदेखि कार्यालय सञ्चालन भएको यो पहिलो दिन भएकाले सेवाग्राहीको उपस्थिति न्यून देखिएको हुन सक्ने सुवेदीको भनाइ छ ।
साथै, सरकारले पूर्वनिर्धारित सार्वजनिक बिदाका दिन समेत सेवा प्रवाहका लागि कार्यालय खोल्ने निर्णय गरे पनि त्यस्ता दिनहरूमा सेवाग्राहीको उपस्थिति कम रहने गरेको सम्बन्धित निकायहरूले जनाएका छन् । सरकारको नयाँ समय व्यवस्थापनले सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।










Discussion about this post