चैत्र २५, सोलुखुम्बु । पहाडी विकास तथा संरक्षण समूह नेपालले महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले छेस्काम स्वास्थ्य चौकी र गुदेल स्वास्थ्य चौकीलाई कुल करिब ११ लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेको हो । सहयोग अन्तर्गत छेस्काम स्वास्थ्य चौकीलाई १६ प्रकारका करिब ७ लाख रुपैयाँ बराबरका सामग्री प्रदान गरिएको छ भने गुदेल स्वास्थ्य चौकीलाई २२ प्रकारका करिब ४ लाख रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइएको छ ।
प्रदान गरिएका सामग्रीहरूमा डिस्पेन्सरी र्याक, बेबी वार्मर, हिटर, रिभल्भिङ चियर, सोलार इन्भर्टर, डिजिटल थर्मोमिटर लगायतका उपकरण समावेश छन् । छेस्काम स्वास्थ्य चौकीमा आयोजित हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विपना कुलुङ, वडा नं. ३ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष दुर्गा बहादुर कुलुङ, स्वास्थ्य चौकी प्रमुख अनिशा खुलाल र सहयोगी संस्थाका अध्यक्ष भलाकाजी कुलुङ लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी, गुदेल स्वास्थ्य चौकीमा सम्पन्न कार्यक्रममा वडा नं. ५ का अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष महल सिंह कुलुङ, स्वास्थ्य चौकी प्रमुख विशाल कुँवर र संस्थाका अध्यक्ष भलाकाजी कुलुङ लगायत सहभागी भएका थिए । संस्थाका अध्यक्ष भलाकाजी कुलुङका अनुसार सामग्री उपलब्ध गराउनु अघि सम्बन्धित स्वास्थ्य चौकीमा पुगेर आवश्यकताबारे जानकारी लिइएको र सोही मागका आधारमा सहयोग प्रदान गरिएको हो । साथै आगामी दिनमा पनि आवश्यक परे थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।











Discussion about this post