चैत्र २६, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिकाले स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले तोरीको तेल उत्पादन तथा प्रशोधन गर्ने उद्योग स्थापना गरेको छ। गाउँपालिकाले उद्योगको सम्पूर्ण तयारी सम्पन्न भइसकेको जनाउँदै अब छिट्टै उद्घाटन गरिने जनाएको छ।

गाउँपालिका अध्यक्ष समीर राईका अनुसार उद्योगबाट उत्पादन गरिएको शुद्ध तोरीको तेल एक लिटरका बोतलमा प्याक गरी बजारमा पठाउन थालिएको छ। यस उद्योगले स्थानीय कृषकले उत्पादन गर्ने तोरीको माग बढाउने र किसानलाई उचित मूल्य सुनिश्चित गर्ने विश्वास लिइएको छ। उद्योग सञ्चालनमा आएपछि गाउँपालिकाभित्र रोजगारीका अवसर सिर्जना हुनुका साथै आयआर्जनमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ।

स्थानीय स्तरमै प्रशोधन हुने भएकाले गुणस्तरीय र शुद्ध तोरीको तेल उपभोक्तासम्म पुग्ने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ। गाउँपालिकाले यस पहललाई कृषि तथा उद्यमशीलता प्रवर्द्धनको महत्वपूर्ण कदमका रूपमा लिएको छ। अध्यक्ष राईले उद्योगको उद्घाटन कार्यक्रम चाँडै आयोजना गरिने जानकारी दिनुभयो।











Discussion about this post