चैत्र २९, सोलुुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ६ मुक्लि रन्देपु क्षेत्रमा यतिबेला किसानहरू गहुँ टिप्ने चटारोमा छन्। बाली भित्र्याउने मुख्य सिजन सुरु भइसकेको भए पनि पछिल्ला केही दिनदेखि लगातारको प्रतिकूल मौसमका कारण उनीहरूले गहुँ काट्न र टिप्न कठिनाइ भोग्नुपरेको गुनासो गरेका छन्। स्थानीय किसानका अनुसार यस वर्ष गहुँ उत्पादन भने अपेक्षाकृत राम्रो देखिएको छ।
समयमै पानी र अनुकूल वातावरणका कारण गहुँ राम्रोसँग फलेको उनीहरूको भनाइ छ। तर, अहिले दिनहुँजसो परिरहेको पानीले खेतमै बाली भिज्ने, ढल्ने तथा कुहिने जोखिम बढेको छ। किसानहरूका अनुसार यदि मौसम छिट्टै सुधार नभए उत्पादनमा कमी आउन सक्ने सम्भावना बढ्दै गएको छ। साथै, ढिलो गरी बाली भित्र्याउँदा अन्नको गुणस्तरमा समेत असर पर्न सक्ने उनीहरूको भनाइ छ।
स्थानीय तह र सम्बन्धित निकायले मौसमको अवस्थालाई ध्यानमा राख्दै किसानलाई आवश्यक सहयोग तथा सूचना प्रदान गर्नुपर्ने माग समेत उठ्न थालेको छ। अहिले भने किसानहरू आकाश ताक्दै मौसम खुल्ने आशामा बसेका छन्।











Discussion about this post