बैशाख ४, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले अनुगमनका क्रममा जफत गरेका अखाद्य बस्तु नष्ट गरेको छ । विभिन्न मितिमा बजार अनुगमन गरि जफत गरिएका म्याद गुज्रिएका अखाद्य सामाग्रीहरू नष्ट गरिएको हो । उपभोक्ता हित संरक्षणका लागी कार्यालयले जिल्ला सदरमुकाम सल्लेरीका विभिन्न पसल तथा होटलहरूमा अनुगमन गर्दा ३३ हजार २ सय ८० रुपैयाँ बराबरको सामाग्री जफत गरेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।
उहाँले नागरिककाे स्वास्थ्यलाई ख्याल गर्दै विभिन्न समयमा बजार अनुगमन गरिएको बताउनुभयो । बजारमा आउने आयातीत बजारे सामाग्रीमा म्याद गुज्रिएको भेटिने गरेको छ । उपभोक्ताको दैनिक प्रयोगका सामाग्रीहरू विशेषगरि पेय पदार्थ, मैदा, चाउचाउ तथा बिस्कुटजस्ता सामाग्री लगायतमा व्यापक लापरवाही हुने गरेको पाइएको छ ।
व्यवसायीहरूले म्याद भएको वा नभएको यकिन नगर्ने, गएको अवस्थामा पनि रि स्टिकर टाँस्ने जस्ता कार्यहरूले गर्दा सेवाग्राहीको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरेको छ । यसको कडाइका लागी जिल्ला प्रशासन कार्यालयले समय समयमा बजार अनुगम गरिरहेको श्रेष्ठले बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय सहित सरोकारवाला निकायहरूको अगुवाईमा बजार अनुगमन हुने गरेको छ ।











Discussion about this post