बैशाख ८, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा कृषि, पर्यटन र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यसहित ठूलो स्तरको कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ । नेचासल्यान उद्योग वाणिज्य संघको आयोजनामा तथा गाउँपालिकासहित विभिन्न निकायको सहकार्यमा सञ्चालन हुने उक्त महोत्सवमा करिब १ लाख ५० हजार दर्शक भित्र्याउने र १ करोड ५० लाख रुपैयाँभन्दा बढी आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ। “कृषि, पर्यटन र व्यापार आर्थिक समृद्धिको मूल आधार” भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन र पर्यटन विकासमा टेवा पु¥याउने विश्वास गरिएको आयोजकले जनाएको छ।
महोत्सवमा स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा बिक्री, विविध सांस्कृतिक कार्यक्रम, मोटरसाइकल ¥याली, म्याराथन दौड तथा प्रमुख पर्यटकीय स्थलहरूको अवलोकन कार्यक्रम समावेश गरिएका छन्। साथै, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन र कृषि–पर्यटन क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई सम्मान गरिने कार्यक्रम पनि तय गरिएको छ।
नेचासल्यान क्षेत्रका गौरीटाप, आहाले, सकेपोखरी, चिसापानीलगायतका पर्यटकीय गन्तव्यको प्रचार–प्रसारमा विशेष जोड दिइने जनाइएको छ। महोत्सवमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ। महोत्सव सञ्चालनका लागि करिब ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। उक्त बजेटमा गाउँपालिका, नेपाल पर्यटन बोर्ड, प्रदेश सरकार तथा विभिन्न संघसंस्थाको सहयोग रहने बताइएको छ। आयोजकका अनुसार महोत्सवले स्थानीय उत्पादनको पहिचान र बजारीकरणमा सहयोग पु¥याउँदै रोजगारी सिर्जना र समग्र क्षेत्रको आर्थिक गतिविधि बढाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।











Discussion about this post