बैशाख ११, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा स्याउ खेती प्रवद्र्धन गर्ने उद्देश्यले ४ वटा कृषि फर्मलाई सत प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका र सोलु च्यामको सहकार्यमा वडा नम्बर २, ३, ६ र ७ मा रहेका कृषि फर्महरूलाई करिब ७ लाख २० हजार रुपैयाँ बराबरका ७२० वटा स्याउका बिरुवा प्रदान गरिएको हो । नगरपालिकाको कृषि शाखा प्रमुख डोल्मादिकी शेर्पाका अनुसार वितरण गरिएका स्याउका जातहरूमा गोल्डेन डेलिसियस, रेड डेलिसियस, गाला र जोनाप्रिन्स रहेका छन् ।
यी जातका स्याउ थोरै जमिनमा पनि धेरै बिरुवा रोप्न सकिने र प्रति हेक्टर उत्पादन उच्च हुने भएकाले छनोट गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यी बिरुवा एक वर्षमै फल दिन सक्ने भएकाले कृषकहरूको आकर्षण बढ्दै गएको छ । तर बिरुवा महँगो पर्ने भएकाले किसानहरूले चाहेर पनि ठूलो परिमाणमा खेती विस्तार गर्न नसकेको उहाँको भनाई छ ।
यही अवस्थालाई ध्यानमा राख्दै नगरपालिकाले किसानहरूलाई निःशुल्क बिरुवा उपलब्ध गराएर स्याउ खेती विस्तार गर्ने, उत्पादन वृद्धि गर्ने तथा आयात घटाउने लक्ष्य लिएको छ । आगामी दिनमा स्याउ प्रशोधनमार्फत कृषकको आम्दानी वृद्धि गर्ने योजना पनि रहेको नगरपालिकाले जनाएको छ । कार्यक्रमलाई दिगो रूपमा सफल बनाउन नियमित अनुगमन गरिने, कृषकलाई आवश्यक प्राविधिक सुझाव प्रदान गरिने तथा आवश्यक सामग्रीहरू समेत अनुदानमा उपलब्ध गराइने बताइएको छ ।











Discussion about this post