जेठ २२, सोलुखुम्बु । सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले स्थानीय अभिभावकहरूको गुनासोका आधारमा विद्यालयका शिक्षकहरूको क्षमता परीक्षण गर्ने निर्णय गरेको छ। कार्यवाहक वडा अध्यक्ष विष्णु नारायण झा द्वारा हस्ताक्षरित सूचनाअनुसार अभिभावकहरूले सम्बन्धित विद्यालयमा शिक्षकहरूको कार्यसम्पादन कमजोर रहेको, पठनपाठन प्रभावकारी ढंगले सञ्चालन हुन नसकेको तथा केही शिक्षकमा आवश्यक शिक्षण क्षमता समेत नरहेको भन्दै निवेदन दिएका थिए।
उक्त निवेदनपछि वडा कार्यालयको ध्यानाकर्षण भएको जनाउँदै असार १५ गते शिक्षकहरूको परीक्षा लिने निर्णय गरिएको सूचनामा उल्लेख छ। परीक्षा मार्फत शिक्षकहरूको विषयगत ज्ञान, अध्यापन क्षमता तथा शैक्षिक दक्षताको मूल्याङ्कन गरिने जनाइएको छ। यसका लागि श्री माध्यमिक विद्यालय गैर बजार लाई आवश्यक शिक्षकहरूको उपस्थितिको व्यवस्था मिलाउन वडा कार्यालयले आग्रह गरेको छ।
वडा कार्यालयले शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले यो कदम चालिएको जनाएको छ। यद्यपि शिक्षकहरूको परीक्षा लिने अधिकार तथा प्रक्रियाबारे स्थानीय तहको भूमिकालाई लिएर यस विषयमा थप बहस हुन सक्ने देखिएको छ। स्थानीय अभिभावकहरूले विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि प्रभावकारी कदम चालिएको भन्दै स्वागत गरेका छन्।











Discussion about this post