सबिना राई, २४, सोलुखुम्बु । निरन्तर भइरहेको वर्षाका कारण खोटाङको ऐसेलुखर्क गाउँपालिकाका विभिन्न वडामा सडक तथा बस्तीमा क्षति पुगेको छ । गाउँपालिकाका अनुसार वडा नं. ५ महेश्वरीमा तीन वटा घर बस्न नहुने गरी क्षतिग्रस्त भएका छन् भने मुख्य सडकहरू विभिन्न स्थानमा भत्किएर तथा पहिरोले पुरिएर अवरुद्ध बनेका छन् ।
त्यसैगरी वडा नं. ४ जल्लेश्वरीका केही बस्ती जोखिमपूर्ण अवस्थामा पुगेका छन् भने त्यहाँका सडकहरू पनि क्षतिग्रस्त भएका छन् । वडा नं. २ बाकचोल, वडा नं. ७ माक्पा र वडा नं. ६ ज्यामिरेका सडकहरूमा समेत वर्षाका कारण क्षति पुगेको गाउँपालिकाले जनाएको छ । वडा नं. ३ ऐसेलुखर्क र वडा नं. १ राखामा भने आंशिक क्षति भएको जानकारी प्राप्त भएको छ ।
अवरुद्ध मुख्य सडकहरू सोमबारदेखि गाउँपालिकाको जेसिबी र स्काभेटर प्रयोग गरी सफा गरेर पुनः सञ्चालनमा ल्याइने तयारी गरिएको छ । क्षतिग्रस्त तथा विस्थापित परिवारहरूको व्यवस्थापनका लागि कार्यपालिका र विपद् व्यवस्थापन समितिको बैठक बसी आवश्यक निर्णय तथा कार्यान्वयन गरिने गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईले जानकारी दिनुभयो । अध्यक्ष राईले वर्षा अझै निरन्तर भइरहेकाले सबै नागरिकलाई सतर्क र सुरक्षित रहन आग्रह गर्नुभएको छ । गाउँपालिकाले मौसमको अवस्था तथा सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।











Discussion about this post