सबिना राई, जेठ २५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११, तिङ्लाका फरार प्रतिवादी नारायण कुमार खड्का काठमाडौंबाट पक्राउ परेका छन् । बैंकिङ कसूर तथा वैदेशिक रोजगार ठगी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका उनलाई प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–११, काँडाघारीबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार ४७ वर्षीय खड्का लामो समयदेखि लुकिछिपी बस्दै आएका थिए। प्रहरी निरीक्षक तथा सूचना अधिकारी विकास राईका अनुसार जिल्लाबाट खटिएको प्रहरीको टोलीले जेठ २१ गते बिहान उनलाई पक्राउ गरेको हो।
पक्राउपछि उनलाई जिल्ला अदालत सोलुखुम्बुमा पेश गरिएको र अदालतको आदेशअनुसार कैद तथा जरिवाना भुक्तानीका लागि कारागार कार्यालय सोलुखुम्बु पठाइएको प्रहरीले जनाएको छ । खड्काविरुद्ध बैंकिङ कसूर र वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा विभिन्न व्यक्तिहरूले जाहेरी दिएका थिए। जाहेरी दिनेहरूमा यामकुमारी युरे, विमल कार्की बस्नेत, विमल सिंह जिसी, फत्तबहादुर श्रेष्ठ, पुकार जिसी, बलमान तामाङ, विकास क्षेत्री, शुक्रराज तामाङ, सीतामाया तामाङ र अग्नि घर्ती मगर रहेका छन्।
अदालतको फैसलाअनुसार खड्कालाई ४ वर्ष ६ महिना १६ दिन कैद सजाय तोकिएको छ। साथै ५० लाख ४५ हजार रुपैयाँ बिगो, ३७ लाख ६५ हजार रुपैयाँ जरिवाना र १ लाख ४८ हजार ६ सय रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्नेछ । फरार अभियुक्तलाई पक्राउ गरी फैसला कार्यान्वयनको प्रक्रियामा लगिएको प्रहरीले जनाएको छ ।











Discussion about this post