ठविन्द्र मगर, जेठ २६, उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकामा बालमैत्री तथा पोषणमैत्री अभियान अन्तर्गत विभिन्न सरोकारवाला निकायहरूको संयुक्त पहलमा अभियानलाई तीव्र पारिएको छ । यसै क्रममा ताप्ली गाउँपालिका वडा नं. ४ ठानागाउँस्थित ककनीश्वर माध्यमिक विद्यालयमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ ।
बालमैत्री स्थानीय शासन समिति ताप्ली ४, ठानागाउँको आयोजना तथा हुरेण्डेक उदयपुर, जाल्पा एकीकृत समाज उदयपुर र वल्र्ड भिजन इन्टरनेसनल नेपालको प्राविधिक तथा सामाजिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो। ताप्ली गाउँपालिकाका कुल ५ वटा वडाहरूमध्ये यसअघि नै ३ वटा वडाहरू बालमैत्री वडा घोषणा भइसकेका छन् ।
चालु चरणमा ताप्ली वडा नं. ४ लाई बालमैत्री वडा घोषणा गर्ने लक्ष्य राखिएको छ । सोही लक्ष्य प्राप्तिका लागि वडा भित्रका विद्यालयहरू, बालक्लबहरू तथा विभिन्न संघ–संस्थाहरूले संयुक्त रूपमा अभियान सञ्चालन गरिरहेका छन्। कार्यक्रम बालमैत्री स्थानीय शासन समितिका संयोजक एवं वडाध्यक्ष उमेश कुमार मगरको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनामाया मगरको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमका वक्ताहरूले वडालाई बालमैत्री र पोषणमैत्री बनाउन विद्यालय, अभिभावक र स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण हुने कुरामा जोड दिँदै तोकिएका सूचकहरू पूरा गरेर चाँडै नै वडालाई बालमैत्री घोषणा गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।










Discussion about this post