सोलुखुम्बु, जेठ २६ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ तामाखानीलाई आगामी असार ३ गते बालमैत्री वडा घोषणा गरिने भएको छ। वडा अध्यक्ष लाक्पा गेलु शेर्पाका अनुसार “बालबालिकामा लगानी सबैको सरोकार, बालमैत्री नगर, विकास र समृद्धिको आधार” भन्ने मूल नाराका साथ तामाखानीलाई बालमैत्री वडा घोषणा गर्न लागिएको हो। यससँगै तामाखानी सोलुदुधकुण्ड नगरपालिकाको दोस्रो बालमैत्री वडा बन्नेछ।
बालबालिकाको अधिकार संरक्षण, सहभागिता, स्वास्थ्य, शिक्षा तथा समग्र विकासलाई प्राथमिकता दिँदै विभिन्न सूचकहरू पूरा गरेपछि वडालाई बालमैत्री घोषणा गर्न लागिएको जनाइएको छ। घोषणा कार्यक्रममा सम्पूर्ण वडावासी, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, शिक्षक, विद्यार्थी, अभिभावक, पत्रकार तथा अन्य सरोकारवालाहरूलाई उपस्थितिका लागि वडा कार्यालयले आग्रह गरेको छ। बालमैत्री स्थानीय शासन अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै बालबालिकाको हित सुनिश्चित गर्न वडा कार्यालयले आवश्यक तयारी तीव्र बनाएको जनाएको छ।










Discussion about this post