सबिना राई, जेठ ३१, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित उदयपुर र खोटाङको सिमाना क्षेत्रमा पर्ने सुनकोशी नदी किनारमा सडिगलेको अवस्थामा फेला परेको पुरुषको शवको सनाखत भएको छ। जेठ २८ गते फेला परेको उक्त शवलाई कानुनी प्रक्रिया पूरा गरी जिल्ला अस्पताल खोटाङको शवगृहमा राखिएको थियो।
शवको पहिचान खुलाउन प्रहरीले हुलिया परिपत्र जारी गरेको थियो। यसै क्रममा आइतबार रामेछाप जिल्लाको साविक भलुवाजोर गाविस–१ भई हाल मन्थली नगरपालिका–६ निवासी तिर्थमान माझी जिल्ला प्रहरी कार्यालयमा सम्पर्कमा आएका थिए। उनले जिल्ला अस्पताल खोटाङको शवगृहमा राखिएको शव अवलोकन गरी उक्त शव आफ्ना ७६ वर्षीय बुबा सन्सरे माझीको भएको सनाखत गरेका हुन्।
प्रहरीका अनुसार सन्सरे माझी जेठ २५ गते घर नजिकै सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका थिए। बेपत्ता भएपछि उनको खोजी भइरहेको थियो। शवको पोस्टमार्टम प्रक्रिया समेत सम्पन्न भइसकेको छ। मृतकका छोरा तिर्थमान माझीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव जिम्मा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक राजु विष्टले जानकारी दिनुभयो।










Discussion about this post