सबिना राई, असार १, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा कृषि योग्य जमिनको पर्याप्त सम्भावना भए पनि सिँचाइ सुविधाको अभावले कृषि उत्पादनमा अपेक्षित वृद्धि हुन सकेको छैन । जिल्लाको कुल ३ लाख ३१ हजार २ सय हेक्टर क्षेत्रफलमध्ये १ लाख ५ हजार ५ सय ४६ हेक्टर कृषि योग्य जमिन रहेको तथ्यांकले देखाएको छ । जिल्लामा १ लाख ३७ हजार हेक्टर क्षेत्रफल सिँचाइ योग्य मानिए पनि हालसम्म केवल २ हजार २ सय ३० हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।
यसले अधिकांश किसान अझै पनि वर्षायाम र मनसुनमा आधारित खेती प्रणालीमा निर्भर रहेको स्पष्ट पारेको छ । कोशी प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को सर्वेक्षणअनुसार सोलुखुम्बु सहित समग्र प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान प्रमुख रहेको थियो । कृषि, पशुपालन तथा कृषि आधारित व्यवसाय स्थानीय रोजगारी र आयआर्जनका मुख्य आधार मानिन्छ, तर आर्थिक वर्ष २०८२/०८३ सम्म आइपुग्दा सोलुखुम्बु सहित अन्य जिल्लाको अर्थतन्त्रमा क्षेत्रगत योगदानमा उल्लेखनीय परिवर्तन देखिएको छ ।
पर्यटन, सेवा तथा अन्य गैरकृषि क्षेत्रको विस्तारसँगै कृषि क्षेत्रको तुलनात्मक योगदान घट्दै गएको विश्लेषण गरिएको छ । कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले प्रदेश सरकारले विशेष अनुदान कार्यक्रम, सिँचाइ पूर्वाधार निर्माण तथा आधुनिक कृषि प्रविधि हस्तान्तरणमा लगानी बढाएको छ । उन्नत बीउबिजन, कृषि यान्त्रिकीकरण तथा किसान लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि अपेक्षित परिणाम हासिल गर्न चुनौती कायम रहेको सरोकारवालाहरू बताउँछन् । विशेषगरी मनसुनमा आधारित खेती प्रणाली, जलस्रोतको प्रभावकारी उपयोग हुन नसक्नु जिल्लाका कृषकहरूले भोगिरहेका प्रमुख समस्या हुन् ।











Discussion about this post