सबिना राई, असार १, सोलुखुम्बु । प्रतिनिधिसभा सदस्य प्रकाश सिंह कार्कीले सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाका जलविद्युत् आयोजना प्रभावित स्थानीय बासिन्दाको समस्याबारे प्रतिनिधिसभा बैठकमा आवाज उठाउनुभएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले लिखुपिके गाउँपालिका र उमाकुण्ड गाउँपालिकाको सिमाना भएर बग्ने लिखु खोलामा एमभी दुगड ग्रुपद्वारा निर्माण गरिएका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएर देश ऊर्जा क्षेत्रमा आत्मनिर्भरतातर्फ अघि बढिरहेको भए पनि आयोजना प्रभावित स्थानीय समुदाय भने लामो समयदेखि आन्दोलनरत रहेको बताउनुभयो ।
उहाँले स्थानीय बासिन्दाको आन्दोलन विकास विरोधी नभई अन्याय, बेवास्ता र अधिकार हननविरुद्धको आन्दोलन भएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार जलविद्युत् आयोजनाका कारण पुस्तौंदेखि खेतीपाती तथा सिँचाइका लागि प्रयोग हुँदै आएका उर्वर खेतबारी, बस्ती तथा जीविकोपार्जनका स्रोतहरू डुबानको उच्च जोखिममा परेका छन् । यसले स्थानीयको आर्थिक तथा सामाजिक जीवनमा गम्भीर असर पार्ने चिन्ता बढेको उहाँले उल्लेख गर्नुभयो ।
त्यस्तै, आयोजनाका सुरुङ तथा अन्य संरचनाका कारण पिउने पानी र सिँचाइका लागि प्रयोग हुने प्राकृतिक पानीका मुहानहरू सुक्न थालेको वा सुक्ने जोखिम बढेको भन्दै स्थानीय समुदाय चिन्तित रहेको उहाँले जानकारी दिनुभयो । सांसद कार्कीले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनमा उल्लेख गरिएका वातावरण संरक्षण, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकाससम्बन्धी सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन नभएको आरोप लगाउनुभयो ।
उहाँका अनुसार कम्पनीले सरकार र स्थानीय समुदायसँग गरेका धेरै प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन सकेका छैनन् । सांसद कार्कीले एमभी दुगड ग्रुप र नेपाल सरकारलाई तत्काल स्थानीय सरोकारवालासँग वार्तामा बस्न आग्रह गर्दै ईआईएमा उल्लेख भएका सबै सर्त र प्रतिबद्धता अक्षरशः कार्यान्वयन गर्न तथा स्थानीयका जायज मागहरू सम्बोधन गर्न माग गर्नुभयो ।










Discussion about this post