सबिना राई, असार १, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ सल्लेरीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयले चालु आर्थिक वर्षमा सञ्चालन गरेका योजना तथा कार्यक्रमको प्रगति समीक्षा र नागरिकका गुनासा तथा सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
वडा अध्यक्ष मिङ्मार तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, महिला प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । सुनुवाइका क्रममा सहभागीहरूले वडाको विकास निर्माण, सेवा प्रवाह तथा स्थानीय आवश्यकतासँग सम्बन्धित विभिन्न प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए । उठाइएका विषयमा वडा कार्यालयले आवश्यक जानकारी तथा जवाफ दिएको जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष तामाङले नागरिकबाट प्राप्त सुझाव र प्रतिक्रियालाई सकारात्मक रूपमा ग्रहण गरिएको बताउनुभयो । उहाँले जनताका अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर आगामी योजना तथा कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो ।
वडा कार्यालयका अनुसार चालु आर्थिक वर्षमा वडा नम्बर ५ मा विनियोजित ४५ लाख रुपियाँ बजेट विभिन्न विकास निर्माण तथा सेवा प्रवाहका कार्यक्रममार्फत कार्यान्वयन गरिएको छ । स्थानीय तहमा सुशासन, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने माध्यमका रूपमा सार्वजनिक सुनुवाइ प्रभावकारी रहेको सहभागीहरूले बताएका छन् । वडा कार्यालयले बर्ष भरी गरेको कामको समिक्षा गरिएको छ ।











Discussion about this post