सबिना राई, असार ३, सोलुखुम्बु । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका को आयोजनामा विद्यार्थीहरूको आँखा परीक्षण तथा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य जाँचसम्बन्धी शिविर सुरु गरिएको छ। मंगलबारदेखि सञ्चालनमा आएको शिविरको पहिलो दिन जनता माध्यमिक विद्यालय मा १ सय ११ जना सेवाग्राही लाभान्वित भएका छन्।
गाउँपालिकाका अनुसार शिविरमार्फत १० वर्षमुनिका २३ जना बालबालिका, २२ जना अपाङ्गता भएका व्यक्तिहरू तथा अन्य ६६ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको हो। गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीका अनुसार समुदायस्तरमै स्वास्थ्य जाँच तथा अपाङ्गतासम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। शिविरबाट स्थानीय नागरिकले सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सकेका छन्।
गाउँपालिकाले दिएको जानकारीअनुसार शिविर असार ९ गतेसम्म सञ्चालन हुनेछ। उक्त अवधिभर गाउँपालिका क्षेत्रभित्र रहेका विभिन्न विद्यालयमा पुगेर आँखा परीक्षण तथा स्वास्थ्य जाँच सेवा प्रदान गरिनेछ। गाउँपालिकाले विद्यालयस्तरमै स्वास्थ्य सेवा पुर्याएर बालबालिकाको आँखासम्बन्धी समस्या पहिचान गर्ने तथा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य अवस्था मूल्याङ्कन गरी आवश्यक परामर्श तथा सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।











Discussion about this post