ठविन्द्र मगर, ताप्ली, असार ३ । उदयपुरको ताप्ली गाउँपालिका वडा नं. ५, रुपाटारमा बुधबार वडास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक सम्पन्न भएको छ । वडालाई ‘पोषणमैत्री वडा’ घोषणा गर्ने उद्देश्यका साथ आयोजित प्रारम्भिक बैठकमा सरोकारवाला निकायका प्रतिनिधिहरूले आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् ।
वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा समितिका सदस्यहरू, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । बैठकमा वडाको वर्तमान पोषण अवस्था, चुनौती तथा आगामी रणनीतिका विषयमा विस्तृत छलफल गरिएको थियो। बैठकको मुख्य केन्द्रबिन्दु पोषणमैत्री स्थानीय शासनका लागि निर्धारण गरिएका ४९ वटा सूचकहरू पूरा गर्ने विषय रहेको थियो।

वडालाई पूर्ण रूपमा पोषणमैत्री बनाउन स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी तथा सरसफाइ लगायतका विभिन्न क्षेत्रबीच समन्वय र सक्रियता बढाउने निर्णय गरिएको छ। विशेषगरी सुनौला हजार दिनका आमा तथा बालबालिका, किशोरी र अन्य लक्षित समुदायको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यका साथ आवश्यक कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
तोकिएका सूचकहरू समयमै पूरा गर्न स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा समुदायस्तरबाट सामूहिक पहल र सहकार्यलाई थप सुदृढ बनाइने बैठकले निष्कर्ष निकालेको छ। बैठकमा सहभागीहरूले पोषणमैत्री वडा घोषणालाई सफल बनाउन सबै क्षेत्रको साझा जिम्मेवारी र सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखेका थिए। वडा नं. ५ लाई निकट भविष्यमै पोषणमैत्री वडा घोषणा गर्ने लक्ष्यका साथ आवश्यक तयारीलाई तीव्रता दिइने जनाइएको छ।











Discussion about this post