असार ४, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा सञ्चालन भइरहेको स्वास्थ्य जाँच तथा अपाङ्गता पहिचान शिविरको दोस्रो दिन २ सय ९८ जनाले सेवा लिएका छन् । गाउँपालिकाको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत मंगलबारबाट सुरु भएको शिविर बुधबार वडा नम्बर ४ र ५ मा सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
जनकल्याण माध्यमिक विद्यालय मा सञ्चालन गरिएको शिविरमा १० वर्षमुनिका १६ जना बालबालिका, १५ जना अपाङ्गता भएका व्यक्तिहरू तथा अन्य १०९ जना गरी कुल १४० जना सेवाग्राही लाभान्वित भएका छन् । त्यसैगरी, हिमालयन माध्यमिक विद्यालय मा सञ्चालन गरिएको शिविरमा १० वर्षमुनिका ९ जना बालबालिका तथा अन्य १४९ जना सेवाग्राहीले सेवा लिएका छन् ।
गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीका अनुसार शिविरमार्फत स्थानीय नागरिकहरूले स्वास्थ्य परीक्षण, परामर्श तथा अपाङ्गता पहिचानसम्बन्धी सेवा प्राप्त गरेका छन् । गाउँपालिकाले शिविर असार ९ गतेसम्म सञ्चालन हुने जनाएको छ । निर्धारित अवधिभर गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा शिविर सञ्चालन गरी नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराइने जनाइएको छ ।











Discussion about this post