असार ६, साेलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको वडा नम्बर २ बेनीको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । शुक्रबार वडा कार्यालय बेनीको सभाहलमा वडा अध्यक्ष ङवाङ ठिले शेर्पाको अध्यक्षतामा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष शेर्पाले वडा कार्यालयको चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमहरू ९९ प्रतिशत सम्पन्न भइसकेको जानकारी गराउनुभएको थियो ।
पर्यटन र सांस्कृतिक विविधताको धनी वडा नम्बर २ मा चालु आर्थिक वर्षमा करिव २ करोड रुपैयाँ बजेट वडाले कार्यान्वयन गरेको थियो । सावीकका ९ वटा गाविस मिलेर बनेको वडा नम्बर २ का विभिन्न क्षेत्रमा उक्त बजेट लगाइएको र हाल सम्म ९९ प्रतिशत योजनाहरू सम्पन्न भइसकेको उहाँको भनाई थियो । सार्वजनिक सुनुवाईमा वडाले आर्थिक वर्ष भरि सञ्चालन गरेका स्वास्थ्य, शिक्षा, पूर्वाधार लगायतका विकासको बारेमा प्रस्तुतिकरण सहितको सार्वजनीकिकरण गरेको थियो ।
यस वर्ष वडाले करिव ४० लाख रुपैयाँ आन्तरिक राजस्व मात्रै सङ्कलन गर्न सफल भएको पनि जानकारी गराइएको छ । आन्तरिक राजस्वको अधिकांश हिस्सा नदीजन्य उत्पादनले ओगटेको छ । सार्वजनक सुनुवाईमा बोल्दै अध्यक्ष शेर्पाले आफू निवार्चनमा होमिँदै गर्दा गरेका प्रतिवद्धता पनि ९९ प्रतिशत कार्यान्वयन गरिसकेको दावी गर्नुभएको थियो । कार्यक्रममा वडाको स्वास्थ्य सम्बन्धी, पञ्जिकरण सम्बन्धी जानकारी सम्बन्धित अधिकारीले पेश गरेका थिए ।










Discussion about this post