सबिना राई, सोलुखुम्बु, असार ७ । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ स्थित जनजागृति माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुको आयोजनामा आइतबार “विश्व सद्भाव र मानसिक स्वास्थ्यका लागि योग” शीर्षकमा प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूमध्ये निशा बस्नेत प्रथम, पूजा मगर द्वितीय, लामुक्मा राई तृतीय तथा तारा पराजुली सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएको आयोजकले जनाएको छ।
प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो भने सान्त्वना स्थान प्राप्त विद्यार्थीलाई मेडलसहित प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक महाप्रसाद फुयालले योगलाई केवल एक दिवसमा सीमित नराखी दैनिक जीवनशैलीको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले योगले शारीरिक तथा मानसिक स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट विद्यालयस्तरमा विद्यार्थी लक्षित योग कार्यक्रम सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुका निमित्त कार्यालय प्रमुख बैजनाथ साहले योग केवल शारीरिक व्यायाम मात्र नभई स्वस्थ जीवनशैलीको आधार भएको बताउनुभयो। आधुनिक जीवनशैलीका कारण बढ्दै गइरहेका मानसिक तनाव, नसर्ने रोग तथा विभिन्न स्वास्थ्य समस्याबाट बच्न योग प्रभावकारी माध्यम भएको उहाँको भनाइ थियो।
कार्यक्रममा केन्द्रका सूचना अधिकारी केशव ढुंगानाले योगको महत्व, यसको अभ्यासबाट हुने स्वास्थ्य लाभ तथा मानसिक सन्तुलन कायम गर्न योगको भूमिकाबारे विद्यार्थीहरूलाई जानकारी गराउनुभएको थियो। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित उक्त प्रतियोगिताले विद्यार्थीहरूमा योगप्रति सकारात्मक सोच विकास गर्नुका साथै योगको महत्वबारे सचेतना अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।










Discussion about this post