सबिना राई, असार ८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा चट्याङ लागेर भैँसी र एक गोरु गोठमै मरेपछि पीडित पशुधनी परिवारलाई राहतस्वरूप आर्थिक सहयोग प्रदान गरिएको छ । प्राकृतिक विपत्तिका कारण भएको उक्त क्षतिपछि समाजसेवी हुर्बा सिंह खड्काको पहलमा स्थानीय समाजसेवीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहयोगमा राहत रकम संकलन गरिएको थियो ।
संकलित ५२ हजार ६ सय ५५ रुपैयाँ पीडित परिवारलाई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको जनाइएको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । समाजसेवी हुर्बा सिंह खड्काले विपत्तिका कारण ठूलो आर्थिक क्षति बेहोरेको परिवारलाई केही राहत पुग्ने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।
उहाँले सहयोग गर्ने सबै दाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता मानवीय कार्यमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।स्थानीयवासीका अनुसार पशुचौपाया नै आयआर्जनको मुख्य आधार भएकाले उक्त घटनाले परिवारलाई ठूलो आर्थिक क्षति पुगेको थियो ।











Discussion about this post