सबिना राई, सोलुखुम्बु, असार २८ । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका–३, पञ्चन मा शनिबार बिहान नाङ्गो विद्युत् तारमा करेन्ट लागेर एक युवक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा स्थानीय टेकनाथ पराजुलीका छोरा अन्दाजी ३६ वर्षीय नारायण प्रसाद पराजुली रहेका छन्। शनिबार बिहान करिब ११ः३० बजे काँगेल–पञ्चन सडकको निरीक्षण गर्ने क्रममा उनी मोबाइल फोनमा संवाद गर्दै पैदल हिँडिरहेका बेला पैराथाम क्षेत्रमा सडकमा झरेको नाङ्गो विद्युत् तारमा छोइएपछि करेन्ट लागेको बताइएको छ।
घटनापछि उनलाई तत्काल उद्धार गरी थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ। हाल उनको काठमाडौंमा उपचार भइरहेको छ। घटनाबारे जानकारी शनिबार दिउँसो १२ः३० बजे विसुगार्ड काँगेलमा प्राप्त हुनासाथ प्रहरी हवल्दार तुलकान्त चौधरीको कमाण्डमा दुई सदस्यीय प्रहरी टोली तथा विद्युत् प्राधिकरणका कर्मचारी घटनास्थलमा खटिएका थिए।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार शुक्रबार राति आएको हावाहुरीका कारण सल्लाको रुख भाँचिएर विद्युत् पोलबाट तार सडकमा झरेको थियो। सोही तारमा विद्युत् प्रवाह भइरहेकाले पराजुली करेन्टको चपेटामा परेका हुन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। साथै, हावाहुरी वा प्राकृतिक विपद्पछि सडक तथा विद्युत् लाइन आसपास आवतजावत गर्दा विशेष सावधानी अपनाउन पनि आग्रह गरिएको छ।










Discussion about this post