सबिना राई, असार २५, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका विभिन्न क्षेत्रमा भालुको आतंक बढ्दै जाँदा किसान चिन्तित बनेका छन् । रातको समयमा बारीमा पस्ने भालुले पाक्न लागेको मकैबाली नष्ट गर्न थालेपछि किसानहरूलाई वर्षभरि खान पुग्ने अन्न जोगाउन हम्मेहम्मे परेको हो । विशेषगरी सोलुदुधकुण्ड नगरपालिका ५ रोसीका किसानहरू भालुको आक्रमणबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।
स्थानीय किसान चक्र बहादुर बस्नेतका अनुसार दैनिकजसो भालुले बारीमा पसेर मकै खाइदिने र बोटहरू समेत नष्ट गर्ने गरेको छ । यसले वर्षभरिका लागि उत्पादन हुने अन्नबालीमा ठूलो क्षति पुगेको उहाँले बताउनुभयो । भालुको आतंक बढेसँगै किसानहरूले बारीभरि स–साना छाप्रा निर्माण गरी रातभर बस्ने गरेका छन् । भालुलाई तर्साउन टिनका पाता झुण्ड्याउने, आवाज निकाल्ने तथा अन्य स्थानीय उपाय अपनाएर बाली जोगाउने प्रयास भइरहेको छ । तर यी उपाय पनि प्रभावकारी हुन नसकेको किसानहरूको गुनासो छ ।
जिल्लाका रोसी, तामाखानी, बेनी, टाक्सिन्दुलगायतका विभिन्न क्षेत्रमा पनि भालुको आतंक बढ्दै गएको स्थानीयले बताएका छन् । वन क्षेत्रबाट बस्ती नजिक आउने भालुले मकैबालीमा क्षति पुर्याउन थालेपछि स्थानीय त्रसित बनेका छन् । किसानहरूले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायले प्रभावकारी सुरक्षा व्यवस्था, क्षतिपूर्ति तथा दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्नुपर्ने माग गरेका छन् ।











Discussion about this post