सबिना राई, असार २५, सोलुखुम्बु । प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीले सोलुखुम्बु र रामेछापको सीमाक्षेत्रमा निर्माणाधीन लिखु खोलाको हाइड्रोपावर आयोजनासँग सम्बन्धित विवादप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिका हुँदै बग्ने लिखु खोलामा एमभी दुगड ग्रुपद्वारा निर्माणाधीन हाइड्रोपावर आयोजनाले नेपाल सरकारसँग भएको सम्झौताअनुसार सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्ने, स्थानीयवासीले पाउनुपर्ने सेयर उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै स्थानीय बासिन्दा केही समयदेखि आन्दोलनरत रहेको बताउनुभयो ।
उहाँले आफू सोही क्षेत्रको जनप्रतिनिधिका रूपमा यसअघि पनि पटक–पटक सदनमार्फत सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्दै, स्थानीयको जायज माग अझै सम्बोधन नभएको गुनासो गर्नुभयो । सांसद कार्कीका अनुसार शान्तिपूर्ण आन्दोलनका क्रममा आफ्ना अधिकारको माग गरिरहेका स्थानीयवासी उद्धव बस्नेत, मुकेश थापा र दशर्की शेर्पालाई पक्राउ गरी झुटा मुद्दा लगाउने प्रयास भएको आरोप लगाउनुभयो ।
उहाँले स्थानीयको माग सुन्न कम्पनी तयार नभएको र जनताले पाउनुपर्ने अधिकारसमेत नदिई उल्टै दबाब दिने, धम्क्याउने तथा मुद्दा चलाउने कार्य स्वीकार्य नहुने धारणा राख्नुभयो । उहाँले स्थानीयको माग सम्बोधन नगरी आयोजना अगाडि बढाउन नसकिने उल्लेख गर्दै निर्माण भएको सम्पत्ति राज्यको भए पनि स्थानीय समुदायलाई बेवास्ता गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो ।
सांसद कार्कीले पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न, उनीहरूमाथिका मुद्दा फिर्ता लिन तथा स्थानीयसँग संवाद र सहमतिका आधारमा आयोजना सञ्चालनको वातावरण बनाउन सभामुखमार्फत सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।










Discussion about this post