खोटाङ, असार २५ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ मोरियामा काम गरेको ज्याला माग्न गएका एक व्यक्तिको खुकुरी प्रहारबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बिहीबार दिउँसो करिब १२ बजे स्थानीय ५३ वर्षीय तिलकबहादुर मगरातीको घरमा काम गरेको ज्याला माग्न पुगेका सोही स्थानका ३५ वर्षीय धुर्ब अधिकारीमाथि मगरातीले अचानक खुकुरी प्रहार गरेका थिए । टाउकोमा लागेको गम्भीर चोटका कारण अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे अपर प्रहरी चौकी याम्खामा सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक बिकल न्यौपानेको नेतृत्वमा खटिएको प्रहरी टोलीले आरोपित मगरातीलाई नियन्त्रणमा लिएको छ। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङतर्फ ल्याइँदै गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनामा प्रयोग भएको खुकुरी र मृतकको शव घटनास्थलमै सुरक्षित राखिएको छ। घटनास्थलको मुचुल्का तथा प्रमाण संकलनसहित आवश्यक कानुनी प्रक्रिया अघि बढाउन प्रहरी निरीक्षक निराजन बस्नेतको नेतृत्वमा अपराध अनुसन्धान टोलीसमेत घटनास्थलमा परिचालन गरिएको छ। घटनाको कारण तथा अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।










Discussion about this post