असार ३०, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा असार अन्तिम सम्म ५७.५६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । जिल्लाभर धान खेती गरिने कुल क्षेत्रफलमध्ये हालसम्म ७०५.५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुका बाली संरक्षण अधिकृत परमेश्वर चमारका अनुसार जिल्लामा धान खेती हुने कुल क्षेत्रफल १ हजार २ सय २५ हेक्टर रहेको छ । असार २९ गतेसम्म प्राप्त तथ्याङ्क अनुसार जिल्लाका विभिन्न स्थानीय तहहरूमा रोपाइँको प्रगति सन्तोषजनक रहेको छ ।
जसमध्ये लिखुपिके गाउँपालिकामा शतप्रतिशत रोपाइँ सकिएको छ । यस्तै सोलुदुधकुण्ड नगरपालिकामा ५० प्रतिशत, नेचासल्यान गाउँपालिकामा ५८ प्रतिशत, थुलुङ दुधकोशी गाउँपालिकामा ४० प्रतिशत, सोताङ गाउँपालिकामा ६५ प्रतिशत, महाकुलुङ गाउँपालिकामा ८६ प्रतिशत, माप्यदुधकोशी गाउँपालिकामा ८० प्रतिशत, लिखुपिके गाउँपालिकामा सत प्रतिशत सम्पन्न भएको जनाइएको छ ।
जिल्लाको उच्च हिमाली क्षेत्रमा अवस्थित खुम्बु पासाङल्हामु गाउँपालिकामा भने चिसो हावापानीका कारण धान खेती नहुने ज्ञान केन्द्रले जनाएको छ । अनुकूल मौसम र समयमै वर्षा भएका कारण जिल्लाका अन्य क्षेत्रमा रोपाइँ कार्य उत्साहजनक रहेको जनाइएको छ ।










Discussion about this post