असार ३१, सोलुखुम्बु । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ निवासी देवीमाया कार्कीलाई नगरप्रमुख कालुमान लामाले ह्वीलचेयर वितरण गर्नुभएको छ । विगत ६ वर्षदेखि हिँडडुल गर्न असमर्थ रहँदै आउनुभएकी कार्कीलाई दैनिक जीवन सहज बनाउन नगरपालिकाले ह्वीलचेयर उपलब्ध गराएको हो । ह्वीलचेयर हस्तान्तरण गर्दै नगरप्रमुख लामाले शारीरिक रूपमा असहज अवस्थामा रहेका नागरिकहरूको जीवनस्तर सुधारका लागि नगरपालिका निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले देवीमाया कार्की र उहाँका श्रीमानलाई आत्मनिर्भर बनाउने उद्देश्यले जीविकोपार्जनसँग सम्बन्धित सीपमूलक तालिमको व्यवस्था गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । तालिममार्फत उनीहरूलाई आयआर्जनका अवसर सिर्जना गर्दै आर्थिक रूपमा सशक्त बनाउने नगरपालिकाको योजना रहेको उहाँले उल्लेख गर्नुभयो ।
स्थानीय सरकारले सामाजिक सुरक्षा र समावेशी विकासलाई प्राथमिकतामा राख्दै आवश्यकतामा रहेका नागरिकलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिइरहेको नगरप्रमुख लामाको भनाइ छ । ह्वीलचेयर वितरणसँगै सीप विकास कार्यक्रमले देवीमाया कार्कीको परिवारको दैनिकी सहज र आत्मनिर्भर बन्ने अपेक्षा गरिएको छ ।











Discussion about this post