असार ३१, सोलुखुम्बु । खोटाङको साकेला गाउँपालिकामा आपसी झगडामा धारिलो हतियार प्रहार गरी भाइको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । साकेला गाउँपालिका ४ पारुङ बस्ने ३५ वर्षीय ओइ मान सिंह राईको हत्या आरोपमा उनका सहोदर दाजुसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार, गत असार २९ गते राति अन्दाजी ८ बजेको समयमा ४८ वर्षीय इमान सिंह राई र ३० वर्षीय जिवन राई भन्ने टिका बहादुर राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा ओइ मान सिंह राईमाथि धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारबाट टाउको र पेटमा गम्भीर चोट लागेका ओइ मान सिंहलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल खोटाङ पुर्याइएको थियो ।
उपचारकै क्रममा असार ३० गते बिहान राति २ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनामा संलग्न रहेका मृतकका दाजु इमान सिंह राई र टिका बहादुर राईलाई प्रहरीले पक्राउ गरी ज्यान सम्बन्धी कसुर मुद्दामा हिरासतमा राखेको छ । पक्राउ परेका दुवै जनालाई खोटाङ जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो ।











Discussion about this post