असार ३१, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका–४ नाम्लुङमा निरन्तरको वर्षासँगै गएको पहिरोका कारण तीन परिवार विस्थापित भएका छन् भने एक घर उच्च जोखिममा परेको छ । स्थानीय शिक्षक लोकेन्द्र राईका अनुसार केही दिनदेखि लगातार परेको भारी वर्षापछि गएको पहिरोले हैकमसिं राई, चारबिर राई, थुम्बामान राई र कृष्णमाया राईको परिवार घर छाड्न बाध्य भएका हुन् । विस्थापित परिवारहरू हाल विभिन्न स्थानमा अस्थायी आश्रय लिएर बसिरहेका छन् । पहिरोका कारण अर्को एक घरसमेत जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।
प्रभावित क्षेत्रका बासिन्दाले गौरीशंकर हाइड्रोपावर आयोजनाका गतिविधिका कारण पहिरो गएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । यद्यपि यस विषयमा सम्बन्धित निकायबाट आधिकारिक पुष्टि हुन बाँकी छ । सोताङ गाउँपालिकाले हालसम्म दुई प्रभावित परिवारलाई राहत उपलब्ध गराएको जनाएको छ । अन्य दुई परिवारले भने राहत पाउन नसकेको स्थानीयले बताएका छन् । स्थानीय तह तथा सम्बन्धित निकायले प्रभावित परिवारको उद्धार, राहत वितरण र जोखिम क्षेत्रमा आवश्यक अध्ययन तथा निगरानीलाई तीव्रता दिनुपर्ने स्थानीयवासीले माग गरेका छन् ।











Discussion about this post