असार ३१, साेलुखुम्बु । सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा भारत सरकारको आर्थिक सहयोगमा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र गुम्बा निर्माणको शिलान्यास गरिएको छ । गाउँपालिकामाको वडा नम्बर ३ नाम्खेलीमा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको भवन निर्माण सुरु गरिएको हो ।
भारतद्वारा नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको गुम्बाको लागत ३ करोड ३० लाख रुपैयाँ रहेको छ । उक्त गुम्बा भवनको लिखु पिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रुपमा मङ्गलबार शिलान्यास गर्नुभएको छ । गुम्बा निर्माणको उक्त लागत साझेदारी मध्ये नेपाल सरकारले ५ प्रतिशत गर्ने छ भने बाँकी ९५ प्रतिशत साझेदारी भारत सरकारको रहने छ ।
गुम्बाको यो भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत बन्न लागेको हो भने यो कार्यक्रम गाउँपालिका मार्फत कार्यान्वयन गरिनेछ यो सोलुखुम्बु जिल्लाको छैटौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । लिखु पिके गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका छन् ।
उनीहरूले नयाँ पूर्वाधारले सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् । गुम्बा शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले गुम्बा निर्माण समयमै सम्पन्न गर्न सरोकारवालाहरूलाई अनुरोध गर्नुभयो। उहाँले गुम्बा निर्माण हुनु भौतिक संरचनाको निर्माण मात्रै नभएर शान्ति र बुद्धको ज्ञानको प्रतीक भएको पनि उल्लेख गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै भारतीय राजदूतावासका सचिव सिंहले नेपाल र भारतको सम्बन्ध सँधै सकारात्मक सहयोग र आदानप्रदानमा आधारित रहेको बताउनुभएको थियो । उहाँले लिखुपिके गाउँपालिकाको भूगोल र प्राकृतिक सुन्दरताको प्रशंसा गर्दै यहाँको जातीय धार्मिक एकताप्रति खुसी व्यक्त गर्नुभयो ।
उहाँले गुम्बा निर्माणले स्थानीय समाज र परम्पराको जगेर्ना गर्नेमा विश्वास व्यक्त गर्नुभयो । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुक्षेत्रीय सहकार्य रहेको छ ।










Discussion about this post