साउन १, सोलुखुम्बु । जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले १ वर्षमा करिव १५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले विभिन्न समयमा गरेको अनुगमन तथा ट्राफिक चेकजाँचका क्रममा कार्यालयले १४ लाख ४७ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
सवारी नियम उलङ्घन तथा ट्राफिक नियम पालना नगर्ने १ हजार २ सय ७२ सवारी कारवाहीमा पर्दा उक्त राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । ट्राफिक प्रहरी ले सबैभन्दा धेरै सवारी चालक अनुमति पत्र नभएको कसुरमा कारवाही गरेको छ । उक्त कारवाहीबाट ३ लाख ८० रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस्तै प्रयोजन विपरीत चलाइएका ८८ वटा सवारी साधनलाई कारबाही वापत १ लाख ७६ हजार, क्षमता भन्दा बढी मालसमान वा यात्रु राखेर चलाइएका ६० वटा सवारी साधन कारवाहीबाट १ लाख २० हजार, लाइसेन्स प्राप्त नगरेको व्यक्तिलाई चलाउन दिएको २४ वटालाई कारवाही गर्दा २४ हजार, जथाभावी मानिस हालेका २ सय ७२ लाई कारवाही गर्दा २ लाख ७१ हजार, खतरापूर्ण रुपमा मालसामान ढुवानी गरेवापतबाट ३३ हजार, सडक इजाजत प्राप्त नबोकेको बापत १ लाख ५८ हजार, नो पार्किङमा पार्किङ गरेबापत १४ हजार ५ सय अवस्था ठिक नभएको सवारी भलाएबापत ५३ हजार, मापदण्ड भन्दा बढी समान वा मानिस राखी चलाएबापत ७८ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।
यस्तै अन्य विभिन्न क्षेत्र वा कसुरमा कारवाही गर्दा उक्त रकम बराबरको राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी चन्द्र बहादुर बस्नेतले बताउनुभयो ।










Discussion about this post