साउन २, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाले दिप्लीबाट –सोताङ मूल सडकखण्डमा भइरहेको स्तरोन्नति, कालोपत्रे तथा ढलान निर्माण कार्यलाई प्रभावकारी रूपमा सम्पन्न गर्न पाँच दिनका लागि विशेष सवारी व्यवस्थापन लागू गरेको छ । गाउँपालिकाले शुक्रबार जारी गरेको सूचनाअनुसार अविरल वर्षाका कारण वैकल्पिक दिप्लीबाट खोर्दा–साल्पाती सडकसमेत क्षतिग्रस्त भएपछि निर्माण कार्यमा थप चुनौती उत्पन्न भएको छ ।
गाउँपालिकाको आफ्नै ब्याकहो लोडर प्रयोग गरी सडक सफा गर्ने प्रयास गरिए पनि समस्या पूर्ण रूपमा समाधान हुन नसकेपछि सडकमा सोलिङ, ग्याबिन जाली निर्माण तथा आवश्यक मर्मतसम्भार गर्नुपर्ने अवस्था आएको जनाइएको छ। निर्माण कार्यलाई सुरक्षित, प्रभावकारी र गुणस्तरीय रूपमा सम्पन्न गर्न आज देखि लगातार पाँच दिनसम्म बिहान ७ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म उक्त सडकखण्ड मर्मत तथा स्तारेन्नतीको काम हुने गाउँपालिकाले जनाएको छ ।
यद्यपि दिउँसो ११ः०० बजेदेखि १२ः०० बजेसम्म भने सवारी आवागमन खुला रहने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालन नगर्न तथा निर्माण कार्यमा सहयोग गर्न स्थानीयवासी, यात्रु र सरोकारवालासँग अनुरोध गरेको छ। अस्थायी असुविधाप्रति क्षमायाचना गर्दै निर्माण सम्पन्नपछि सुरक्षित, सहज र दिगो सडक सेवा उपलब्ध गराइने विश्वाससमेत व्यक्त गरिएको छ।











Discussion about this post