साउन २, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्ला वडा कार्यालयले काठमाडौँमा बसोबास गरिरहेका आफ्ना नगरवासीलाई लक्षित गर्दै साउन ७ र ८ गते २ दिने सेवा प्रवाह शिविर सञ्चालन गर्ने भएको छ । वडा कार्यालयले सूचना जारी गर्दै राजधानीमै पुगेर विभिन्न प्रशासनिक तथा राजस्वसम्बन्धी सेवा उपलब्ध गराइने जानकारी गराएको हो ।
वडा अध्यक्ष टंक कार्कीका अनुसार शिविरमा जन्म, मृत्यु, बसाइँसराइ तथा सम्बन्धविच्छेद दर्ता, सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत तथा भूमि कर संकलन, साथै वडा कार्यालयबाट प्रदान गरिने विभिन्न प्रकारका सिफारिस सेवा उपलब्ध गराइनेछ। शिविर काठमाडौँको रामनगर पार्टी प्यालेसमा सञ्चालन हुनेछ । वडा कार्यालयले आवश्यक कागजातसहित सेवा लिन सम्बन्धित नगरवासीलाई उपस्थित हुन आग्रह गरेको छ ।
सेवा काठमाण्डौबाट प्रवाह गर्ने तयारी गर्दा यता वडा कार्यालयमा भने साउन ५ गतेदेखि १३ गतेसम्म वडा कार्यालयबाट राजस्व संकलन बाहेकका अन्य नियमित सेवाहरू प्रभावित हुने भएकाले अत्यावश्यक काम समयमै व्यवस्थापन गर्न पनि वडा कार्यालयले अनुरोध गरेको छ । सोलुदुधकुण्ड नगरपालिकाले विगत केही वर्षदेखि काठमाडौँमा बसोबास गर्ने नगरवासीलाई लक्षित गरी राजधानीमै एकीकृत सेवा शिविर सञ्चालन गर्दै आएको छ। यसबाट नागरिकले सामाज्य सेवाकालागी जिल्लासम्म पुग्नुपर्ने समय, खर्च र झन्झट कम हुने अध्यक्ष काकीृको भनाई छ ।










Discussion about this post