साउन ३, साेलुखुम्बु । चर्चित टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियन सिजन–४ को टप २४ मा ओखलढुंगाबाट दुई जना प्रतिभा छनोट भएका छन्। जिल्लाको लिखु गाउँपालिका–६ निवासी विपिन भट्टराई र चिशंखुगढी गाउँपालिका–८ निवासी अर्जुन पोखरेल उत्कृष्ट प्रस्तुति दिँदै अन्तिम २४ प्रतिस्पर्धीभित्र स्थान बनाउन सफल भएका हुन्। प्रतियोगिताको अडिसन चरणमा विपिन भट्टराईले प्रभावशाली प्रस्तुति प्रस्तुत गर्दै बेस्ट पर्फर्मर घोषित हुनुका साथै निर्णायकबाट गोल्डेन कि समेत प्राप्त गरेका छन्। गोल्डेन कि प्राप्त गरेसँगै उनी सिधै टप २४ मा प्रवेश गर्न सफल भएका हुन्। त्यसैगरी चिशंखुगढी गाउँपालिका–८ का अर्जुन पोखरेलले पनि आफ्नो मौलिक हास्य प्रस्तुति र उत्कृष्ट स्टेज प्रस्तुतीकरणका आधारमा टप २४ मा स्थान सुरक्षित गरेका छन् । ओखलढुंगाबाट एकै संस्करणमा दुई प्रतिभा राष्ट्रियस्तरको प्रतिष्ठित कमेडी प्रतियोगिताको अन्तिम २४ मा पुग्न सफल भएपछि जिल्लावासीमा उत्साह थपिएको छ। दुवै प्रतिस्पर्धीलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिने क्रम जारी रहेको छ। अब उनीहरूले आगामी चरणहरूमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि यात्रालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ











Discussion about this post