साउन १५, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट गत आर्थिक वर्ष २०८२/८३ मा निजी वनबाट ११ लाख ३३ हजार १५५ क्युफिट काठ निकासी भएको छ । विभिन्न प्रजातिका काठ बिक्री तथा निकासामार्फत संघ, प्रदेश र स्थानीय तहले उल्लेख्य राजस्व संकलन गरेका छन् । डिभिजन वन कार्यालय सोलुखुम्बुका वन अधिकृत रामचन्द्र ठाकुरका अनुसार निकासी गरिएका काठमा उत्तिस, गोब्रे सल्ला, पाटे सल्ला, ठिग्रे सल्ला, चिलाउने, मलातो र मौवा लगायतका प्रजाति रहेका छन् ।
निजी वनबाट उत्पादन भएका यी काठको कानुनी प्रक्रिया पूरा गरी देशका विभिन्न जिल्लामा निकासी गरिएको हो । कार्यालयका अनुसार काठ निकासीबाट मूल्य अभिवृद्धि कर बापत २ करोड ९९ लाख ७८ हजार ६११ रुपैयाँ संकलन भएको छ । यस्तै प्रदेश सरकारको कोषमा जम्मा हुने प्रदेश सेवा शुल्कबापत ५७ लाख ७० हजार ३८ रुपैयाँ ९० पैसा राजस्व प्राप्त भएको छ ।
स्थानीय तहअन्तर्गत सोलुदुधकुण्ड नगरपालिकाले स्थानीय सेवा शुल्कबापत ७२ लाख ५० हजार ३९४ रुपैयाँ ६० पैसा राजस्व संकलन गरेको जनाएको छ । यसबाट निजी वन व्यवस्थापनले स्थानीय तहको आम्दानी वृद्धि गर्नसमेत महत्वपूर्ण योगदान पुर्याएको देखिएको छ। सोलुखुम्बुमा उत्पादन भएको काठ झापा, विराटनगरलगायत पूर्वी नेपालका विभिन्न बजारसम्म आपूर्ति हुने गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।










Discussion about this post