सबिना राई, साउन २१, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा गरिएको छ । जिल्लाका आठवटै स्थानीय तहका ४ सय ४२ जना अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याइएको हो । करुणा फाउण्डेशन नेपालको समन्वयमा जिल्लामा सञ्चालन गरिएको स्वास्थ्य बिमा कार्यक्रममा खुम्बु पासाङल्हामु गाउँपालिकाका १७, लिखुपिके गाउँपालिकाका २७, महाकुलुङ गाउँपालिकाका ५७, माप्य दूधकोशी गाउँपालिकाका ३०, नेचासल्यान गाउँपालिकाका ४९, सोलुदूधकुण्ड नगरपालिकाका ९७, सोताङ गाउँपालिकाका ६३ र थुलुङ दूधकोशी गाउँपालिकाका १ सय २ जना अपाङ्गता भएका व्यक्ति समेटिएका छन् ।
फाउण्डेशनले जिल्लामा ४ सय ६८ जना अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा गर्ने लक्ष्य लिएको थियो । लक्ष्यको तुलनामा ४ सय ४२ जनाको बिमा गरिएपछि ९४ प्रतिशत लक्ष्य पूरा भएको जनाइएको छ । जिल्लामा ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक तथा ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । अन्य अपाङ्गता भएका व्यक्तिको हकमा भने वार्षिक ३ हजार ५ सय रुपैयाँ शुल्क तिरेर स्वास्थ्य बिमा गरिएको सोलुदूधकुण्ड नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख रीता ढुंगानाले जानकारी दिनुभयो ।
अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको हो । स्वास्थ्य बिमामा आबद्ध भएपछि उपचारका क्रममा लाग्ने खर्चमा राहत पुग्ने भएकाले लक्षित वर्गलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
सोलुखुम्बुमा अपाङ्गता भएका व्यक्तिको अधिकार, स्वास्थ्य तथा सामाजिक सुरक्षासम्बन्धी विभिन्न कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश, करुणा फाउण्डेशन नेपाल, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा स्थानीय तहको समन्वयमा सञ्चालन हुँदै आएका छन् । स्वास्थ्य बिमा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको उल्लेख्य सहभागिताले जिल्लामा सामाजिक सुरक्षाको पहुँच विस्तार गर्न सहयोग पुगेको सम्बन्धित निकायले जनाएको छ ।










Discussion about this post