दिपेन्द्र खनाल, साउन २१, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा सञ्चालित एपेक्स मकालु हाइड्रोपावर लिमिटेडको प्रमोटर शेयर खरिद–बिक्रीको विषय यतिबेला स्थानीय स्तरमा चासो र विवादको विषय बनेको छ । कम्पनीको प्रमोटर शेयर सीमित व्यक्तिहरूले खरिद गरी अहिले उच्च मूल्यमा बिक्री गरिरहेको भन्ने आरोप सार्वजनिक भएपछि यस विषयमा स्थानीय स्तरमा बहस चुलिएको हो । सामाजिक सञ्जालमार्फत स्थानीयवासीहरूले प्रमोटर शेयर वितरण प्रक्रियामा पारदर्शिता र निष्पक्षताको अभाव रहेको भन्दै आलोचना गरिरहेका छन् ।
स्थानीय दिलीप सिंह राईले सामाजिक सञ्जालमार्फत शेयर वितरण प्रक्रिया विधिसम्मत नभएको दाबी गर्दै यसबारे स्पष्ट जानकारी सार्वजनिक गर्न सम्बन्धित पक्षसँग माग गर्नुभएको छ । एकथरी स्थानीयवासीक महाकुलुङका सबै नागरिकले अवसर पाउनुपर्ने प्रमोटर शेयर दलगत पहुँचका आधारमा सीमित व्यक्तिहरूलाई वितरण गरिएको बताउँछन । यही विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी र अभिव्यक्तिहरू सार्वजनिक भइरहेका छन् ।
यसैक्रममा ‘सत्य तथ्य निष्पक्ष ’ नामक फेसबुक आइडीबाट प्रमोटर शेयर खरिद गरेको दाबी गरिएका केही व्यक्तिहरूको नाम उल्लेख गर्दै सार्वजनिक टिप्पणी गरिएको छ । उक्त पोस्टमा नेपाली कांग्रेसका पालिका तहका एक नेता, नेकपा (एमाले) का एक नेता तथा वर्तमान वडा अध्यक्ष, पूर्व गाउँपालिका अध्यक्षलगायतले करिब एक–एक करोड रुपैयाँ बराबरको शेयर खरिद गरी प्रतिकित्ता १२० रुपैयाँका दरले बिक्री गरिरहेको आरोप लगाइएको छ । यद्यपि, ती आरोपहरू अस्वीकार गर्दै नेपाली कांग्रेसका स्थानीय नेता भलाकाजी कुलुङले आफूले सामाजिक सञ्जालमा दाबी गरिएअनुसार शेयर खरिद नगरेको बताउनुभयो। उहाँले सामाजिक सञ्जालमा आएका विषयहरु अफवाह भएको र त्यसमा कुनै सत्यता नभएको दाबी गर्नुभयो।
त्यसैगरी, नेकपा (एमाले) का नेता तथा महाकुलुङ गाउँपालिका ५ का वडा अध्यक्ष महल सिं कुलुङले कम्पनीले आफ्नो नियमअनुसार प्रमोटर शेयर खुलाएको बताउनुभयो। उहाँका अनुसार उक्त शेयर सर्वसाधारणका लागि नभई कम्पनीका साविकका प्रमोटर शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने व्यवस्था रहेको छ । उहाँले कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको १० प्रतिशत शेयर सुरक्षित रहेको उल्लेख गर्दै हाल देखिएको विवाद प्रमोटर शेयरधनीहरूले आफ्नो स्वामित्वको शेयर बिक्री गरिरहेको विषयसँग सम्बन्धित रहेको बताउनुभयो । उक्त प्रमोटर सेयर करिव ५ वर्ष अघि विकृ गरिएको थियो ।
लामाे समयसम्म लगानी हाेल्ड भएपछी उक्त शेयर अाेटिसी अर्थात अाउट अफ काउण्टर मार्फत विकृ गर्न सेयरधनीहरू बाध्य भएकाले याे विषय विवादीत बनेकाे लगानी सम्वद्द जानकारहरूकाे बुझाइ छ । यस्ताे अवस्थामा प्रमोटर शेयरधनीहरूले आफ्नो आवश्यकता अनुसार शेयर बिक्री गर्न सक्ने र यस्तो कारोबार दोस्रो बजार (सेकेन्डरी मार्केट) मार्फत हुने अध्यक्ष राइकाे भनाइ छ । यस विषयमा सामाजिक सञ्जालमा विभिन्न आरोप–प्रत्यारोप भइरहे पनि सम्बन्धित निकायबाट आधिकारिक अनुसन्धान वा निष्कर्ष सार्वजनिक भइसकेको छैन ।
त्यसैले सामाजिक सञ्जालमा आएका दाबीहरूको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको छ। यद्यपि, स्थानीय स्तरमा बढ्दो चासोलाई मध्यनजर गर्दै कम्पनी र सम्बन्धित नियामक निकायले यसबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवाज उठिरहेको छ । यस विषयमा थप जानकारिका लागी एपेक्स मकालु हाइड्राेका प्रतिनिधीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।











Discussion about this post