साउन २२, सोलुखुम्बु । डिभिजन वन कार्यालय सोलुखुम्बुले पछिल्लो तीन आर्थिक वर्षमा दुई लाख ४७ हजारभन्दा बढी विभिन्न प्रजातिका बिरुवा वितरण गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्ममा दुई लाख ४७ हजार एक सय ३१ बिरुवा वितरण गरिएको हो । तीमध्ये आर्थिक वर्ष २०८०/८१ मा एक लाख २१ हजार एक सय ५२, २०८१/८२ मा ४५ हजार नौ सय ७९ र २०८२/८३ मा ८० हजार बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालय सोलुखुम्बुका वन अधिकृत रामचन्द्र ठाकुरले जानकारी दिनुभयो ।
कार्यालयले फलफूल, डालेघाँस, काष्ठजन्य, जडीबुटी तथा कागतीलगायत बहुवर्षीय प्रजातिका बिरुवा वितरण गरेको जनाएको छ । स्थानीयको माग र कार्यालयका कार्यक्रमअनुसार विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको हो । वितरण गरिएका बिरुवा सम्बन्धित क्षेत्रमा रोपिएपछि तिनको अवस्थाबारे अनुगमन तथा निरीक्षणका लागि सबडिभिजन वन कार्यालय र डिभिजन कार्यालयका कर्मचारीलाई खटाउने गरिएको वन अधिकृत ठाकुरले बताउनुभयो ।
यद्यपि वितरण गरिएका बिरुवामध्ये कति बिरुवा हुर्किए, कति नष्ट भए र कति उत्पादनशील अवस्थामा पुगे भन्नेबारे यथार्थ तथ्याङ्क भने कार्यालयसँग छैन । सामान्य रूपमा निरीक्षण गरिए पनि बिरुवाको जीवित अवस्था र वृद्धि विकासको व्यवस्थित अभिलेख नरहेको ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी दिनमा वितरण गरिएका बिरुवाको अवस्थासहितको यथार्थ तथ्याङ्क संकलन तथा अभिलेखीकरण गर्ने व्यवस्था मिलाइनेछ ।











Discussion about this post