साउन २४, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले काठमाडौँमा अस्थायी बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गरी सेवा शिविर सञ्चालन गरेको छ । गाउँपालिकासम्म पुगेर सेवा लिन कठिन हुने नागरिकलाई काठमाडौँमै स्थानीय तहका सेवा उपलब्ध गराउने उद्देश्यले शनिबारदेखि काठमाडौँस्थित नवदुर्गा पार्टी प्यालेसमा शिविर सुरु गरिएको हो । शिविर आज समापन हुने गाउँपालिकाले जनाएको छ ।
शिविरमा माप्य दुधकोशी गाउँपालिकाका सातवटै वडाका छुट्टाछुट्टै कक्ष स्थापना गरी विभिन्न सेवा प्रवाह भइरहेको छ । गाउँपालिकामा स्थायी बसोबास भए पनि रोजगारी, अध्ययन तथा अन्य कारणले काठमाडौँमा अस्थायी रूपमा बसोबास गरिरहेका नागरिकले शिविरबाट सेवा लिइरहेका छन् ।
विशेषगरी गाउँपालिका कार्यालयसम्म पुग्न कठिन हुने ज्येष्ठ नागरिकसहित अन्य सेवाग्राही शिविरबाट लाभान्वित भएका छन् । गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईका अनुसार वर्षायाममा काठमाडौँबाट गाउँपालिकासम्म पुग्न यातायातको कठिनाइ हुने तथा सेवा लिनकै लागि आउजाउ गर्दा सेवाग्राहीको समय र खर्च दुवै बढ्ने भएकाले काठमाडौँमै शिविर सञ्चालन गरिएको हो ।
शिविरको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष गौरव राईसहित सातवटै वडाका अध्यक्ष तथा गाउँपालिकाका जनप्रतिनिधिको उपस्थिति रहेको थियो । स्थानीय तहबाट प्रवाह हुने सेवा नागरिकको पहुँचमै पु¥याउने उद्देश्यले आयोजना गरिएको शिविरले काठमाडौँमा रहेका गाउँपालिकाका नागरिकलाई गाउँमै पुगेर सेवा लिनुपर्ने बाध्यता कम गरेको गाउँपालिकाको भनाइ छ ।











Discussion about this post