साउन २५, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले काठमाडौँमा आयोजना गरेको दुई दिने एकीकृत सेवा प्रवाह शिविरमार्फत एक हजार पाँच सयभन्दा बढी नागरिक लाभान्वित भएका छन् । अस्थायी रूपमा काठमाडौँमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरबाट कुल एक हजार ५९६ जनाले स्थानीय तहबाट प्राप्त हुने विभिन्न सेवा लिएका हुन् ।
गाउँपालिकासम्म पुगेर सेवा लिन कठिन र खर्चिलो हुने अवस्थालाई मध्यनजर गर्दै काठमाडौँको नवदुर्गा पार्टी प्यालेसमा शनिबार र आइतबार शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमा माप्य दुधकोशी गाउँपालिकाका सातवटै वडाका छुट्टाछुट्टै कक्ष स्थापना गरी सेवा प्रवाह गरिएको थियो । शिविरमार्फत व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा वर्गीकरण, मालपोत तथा व्यवसाय नवीकरण र विविध प्रकारका प्रशासनिक सिफारिससम्बन्धी सेवा प्रदान गरिएको छ ।
रोजगारी, अध्ययन तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँमा अस्थायी रूपमा बसोबास गर्दै आएका नागरिकलाई घरदैलोमै स्थानीय सरकारको उपस्थिति अनुभूति गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । आफ्नै पायक पर्ने स्थानमा सहजरूपमा गाउँपालिकाको सेवा पाएपछि सेवाग्राहीहरूले खुसी व्यक्त गरेका छन् ।










Discussion about this post