साउन २५, सोलुखुम्बु । केन्द्रीय डिजिटल प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रभावित बनेको छ। जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने राहदानी सेवा पछिल्लो केही समयदेखि नियमित हुन नसक्दा सेवाग्राही समस्यामा परेका छन् ।
राहदानी शाखाका कर्मचारी विकास कट्वालका अनुसार समस्या सोलुखुम्बुको मात्र नभई देशभर देखिएको प्रणालीगत समस्या हो। सरकारले नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली लागू गरेपछि प्रारम्भिक चरणमा देखिएका प्राविधिक समस्याले सेवा प्रभावित भएको हो । यता, राष्ट्रिय परिचयपत्रको केन्द्रीय सर्भरमा देखिएको समस्याले राहदानी विभागसहित १६ सरकारी निकायको प्रमाणीकरण सेवा प्रभावित भएको पछिल्लो विवरण सार्वजनिक भएको छ ।
प्रणालीको क्षमता कमजोर हुँदा राष्ट्रिय परिचयपत्र नम्बर प्रमाणीकरण तथा विवरण स्वीकृतिमा समस्या देखिएको जनाइएको छ । सोलुखुम्बुमा पनि जिल्लाबाट विवरण पठाएपछि केन्द्रबाट स्वीकृत भई राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त हुने प्रक्रिया प्रभावित भएको छ । यसका कारण परिचयपत्र नम्बर पर्खिरहेका सेवाग्राहीले थप समय कुर्नुपर्ने अवस्था छ ।
तर केन्द्रमा प्रणाली सुधार हुँदै गर्दा जिल्लामा सेवा कहिलेदेखि पूर्ण रूपमा नियमित हुन्छ भन्ने अझै स्पष्ट छैन। सोलुखुम्बुजस्तो भौगोलिक रूपमा विकट जिल्लाका नागरिकका लागि डिजिटल प्रणालीमा आएको अवरोधले समय र खर्च दुवै बढाएको छ ।










Discussion about this post