साउन २८, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित केदार माध्यमिक विद्यालयका पूर्वविद्यार्थी डा. हेरम्बराज बास्तोलाले नेपाली शिक्षा विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएकोमा विद्यालयले सम्मान गरेको छ । महेन्द्ररत्न क्याम्पस, ताहाचल, काठमाडौंमा अध्यापनरत डा. बास्तोलाले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट ‘बालभाषा विकासमा पाठ्येतर बालसाहित्यको उपयोग : एक कार्यमूलक अनुसन्धान’ शीर्षकमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको हो ।
विद्यावारिधि उपाधि हासिल गरी आफ्नो शैक्षिक क्षेत्रमा महत्वपूर्ण सफलता प्राप्त गर्नुभएका बास्तोलालाई बिहीबार विद्यालयमा आयोजित विशेष कार्यक्रममा सम्मान गरिएको विद्यालयका सूचना अधिकारी सुवास भण्डारीले जानकारी दिनुभयो । विद्यालय परिवारले उहाँको उपलब्धिलाई गौरवको विषयका रूपमा लिँदै आगामी दिनमा पनि शैक्षिक तथा अनुसन्धानका क्षेत्रमा थप सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको छ ।
डा. बास्तोला सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ का बासिन्दा हुनुहुन्छ । उहाँले आफ्नो शैक्षिक यात्रा अघि बढाउँदै उच्च शिक्षा तथा अनुसन्धानका क्षेत्रमा प्राप्त गर्नुभएको उपलब्धिले विद्यालयको समेत प्रतिष्ठा बढाएको विद्यालय परिवारले जनाएको छ ।











Discussion about this post